दफा ४४
कोषको वित्तीय सम्पत्तिको व्यवस्थापन र लगानी सम्बन्धी व्यवस्था
: (१) कोषको वित्तीय स्रोतको उपयोग देहाय बमोजिम हुनेछ :-
(क)  यस ऐन तथा प्रचलित कानून बमोजिम सुरक्षित निक्षेपको शोधभर्ना तथा कर्जा सुरक्षणको कार्य गर्न,
(ख)  शोधभर्ना प्रक्रिया सम्बन्धी खर्च गर्न,
(ग)   कोषको प्रशासनिक र अन्य वित्तीय खर्च गर्न,
(घ)   खण्ड (क), (ख) र (ग) मा उल्लिखित कार्यका लागि कोषले व्यहोर्नु पर्ने दायित्व तथा लिएको ऋण चुक्ता गर्न ।
(२) कोषको वित्तीय सम्पत्तिको लगानी देहाय बमोजिम हुनेछ :-
(क)  नेपाल सरकार वा नेपाल राष्ट्र बैङ्कले नेपाली वा विदेशी मुद्रामा जारी गरेको धितोपत्र वा ऋणपत्रमा लगानी गर्न,
(ख)  नेपाल राष्ट्र बैङ्कमा लगानी निक्षेप जम्मा गर्न,
(ग)   नेपाल सरकार वा नेपाल राष्ट्र बैङ्कले जारी गर्ने ऋणपत्रको अप्रतिस्पर्धी बोल कबोल कारोबारमा लगानी गर्न,
‍(घ)  लगातार पाँच बर्षसम्म नाफामा गएका ‘क’ वर्गको बाणिज्य बैङ्कमा लगानी निक्षेप जम्मा गर्न ।
(३) कोषले आफ्नो वित्तीय सम्पत्ति देहाय बमोजिम व्यवस्थापन गर्नेछ :-
(क)  मुनाफामा भन्दा सुरक्षित र तत्कालै तरल हुन सक्ने क्षेत्रमा लगानी गर्ने,
(ख)  स्वीकार्य तहको जोखिम भित्रका वित्तीय उपकरणमा लगानी गर्ने,
(ग)   चाहेका बखत तरल हुने सम्पत्तिमा मात्र लगानी गर्ने ।
(४) कोषका वित्तीय साधन परिचालन सम्बन्धी अन्य व्यवस्था देहाय बमोजिम हुनेछ :-
(क)  कोषमा रहेको तरलताको अवस्था अनुसार कोषले नेपाल सरकार वा नेपाल राष्ट्र बैङ्कले जारी गरेका दायित्वका उपकरणहरु पुन खरिद गर्ने शर्तमा बिक्री गर्न
सक्नेछ ।
(ख)  कोषले मन्त्रालय र नेपाल राष्ट्र बैङ्कसँग शोधभर्नाको निम्ति आवश्यक पर्ने अतिरिक्त वित्तीय साधनको निम्ति सम्झौतामा भएका शर्तका अधीनमा रही तोकिए बमोजिम तरलता सम्झौता गर्न सक्नेछ ।
(ग)   खण्ड (ख) बमोजिमको सम्झौतामा शोधभर्ना प्रक्रियालाई पूरा गर्न आवश्यक पर्ने आर्थिक स्रोतको उल्लेख गर्नु पर्नेछ।
(५) कोषले आफ्नो वित्तीय सम्पत्तिको व्यवस्थापन गर्दा प्रभावकारी, कम खर्चिलो, न्यून जोखिम र आवश्यक पर्दा तरलतामा सजिलै परिणत गर्न सक्ने गरी गर्नु पर्नेछ ।
(६) नेपाल सरकार वा नेपाल राष्ट्र बैङ्कले निष्कासन गरेका सुरक्षणमा अप्रतिस्पर्धी बोल कबोलमा कोष सहभागी हुन सक्नेछ ।
(७) कोषको वित्तीय सम्पत्तिको व्यवस्थापन गर्दा शोधभर्ना कार्यलाई सुनिश्चित गर्ने उद्देश्यले लगानी नीति प्रतिफल भन्दा सुरक्षित र तरलतायुक्त सिद्धान्तमा आधारित हुनेछ ।